धनगढीबाट डाेटी जाँदै गरेकाे अटाे रिक्सा डडेल्धुरामा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । बुधबार राति भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको आलिताल गाउँपालिका–१ मेलखर्क नजिकै हगुल्टेकाे लेकमालसुपप्र ०१००१ ह ४९६४ नम्बरको अटाे रिक्सा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
अटाे चालक डाेटीकाे शिखर नगरपालिका-८ बस्ने २६ वर्षीय दिपक बलायर र अटाेमा सवार साेही ठाउँका २६ वर्षकै केशव महराको घटनास्थलमै मृत्यु भएको हो जिल्ला ट्राफिक प्रहरीका कार्यालयका प्रहरी हवलदार लक्ष्मण पाण्डेले बताए ।
उनीहरूकाे शव बिहीबार बिहान घटनास्थलबाट उठाएर परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको पाण्डेले बताए l अटाेमा सवार शिखर नगरपालिका-७ का बिरेन्द्र कुँवर घाइते छन् । उनकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
अटाे सडकबाट करीब ८ सय मिटर तल भीरमा खसेको छ । दुर्घटनाकाे कारण भने खुलेकाे छैन ।






