२०८० असोज १२ काठमान्डौ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका छन्।
उनले यसरी लेखेका छन्-
सम्पूर्ण पुराना दलहरूलाई अपिल:
देशमा ब्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा।
तर ‘मिसन ८४’ भनेर तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त! मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त!! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन८१, मिसन८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्।
४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।
राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाईंको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घन्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।






