तस्करले २ गैंडा मारे  चितवन राष्ट्रिय निकुञ्जमा 

२०८० मंसिर १, शुक्रबार ०७:२८

तस्करले २ गैंडा मारे  चितवन राष्ट्रिय निकुञ्जमा

चितवन । तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका हुन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका छन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए ।गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?