मंसिर ७,। सिराहाको हुलाकी राजमार्गमा हिजो साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंएर दुर्घटना हुँदा तीन जना युवकको मृत्यु भएको छ । भने एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन् ।
उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी पाण्डेले बताए ।
मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । तीव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर क्षति भएको प्रहरीले जनाएको छ ।






