काठमाडौं : बुद्ध जयन्तीको विदा पारेर बिहीबार (जेठ १० गते)देखि प्रदर्शनमा आएका चार स्टारहरुको फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले घरेलु बक्स अफिसमा ‘इनिसियल’ व्यापार आक्रामक गरे । प्रदर्शनको पहिलो दिन (बिहीबार) र तेस्रो दिन (शनिबार) देशभरका हलहरुमा महोत्सवझैँ देखिएको थियो । यी दुई फिल्मप्रति देखिएको दर्शकहरुको क्रेजले फिल्म क्षेत्रमै खुसीको बहार ल्याएको छ ।
दुवै फिल्मले उत्साहजनक व्यापार गरेपछि अभिनेत्री वर्षा सिवाकोटीले पनि खुसी व्यक्त गरेकी छन् । दर्शकको प्रेम नै कलाकारको सबैभन्दा ठूलो सम्पत्ति रहेको उल्लेख गर्दै उनले कुनै बेला कोरोनाले थलिएको फिल्म क्षेत्र पछिल्लो समय जुर्मुराएको देख्दा आफ्नो खुशीको सीमा नरहेको बताएकी छन् । हलमा दर्शकको ओइरो देख्दा आफ्नै फिल्म चलेजसरी पुलकित भएको उनको भनाई छ ।
उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘म स्वयं कलाकारका हिसाबले चलचित्र उत्सव-महोत्सवहरुमा सहभागी हुने मौका कमै पाएको छु तर केही समययता सिनेमा हलमा दर्शकहरुको ओइरो देख्दा म ‘मेरै फिल्म चलेजसरी’ पुलकित भएको छु ।’ हलमा फर्किएको यो बहार, उत्साह र उमंगलाई उत्सवका रुपमा मात्र नमनाएर भविष्यसम्म जोगाइरहन सक्नुपर्ने उनको जोड छ ।
उनले अगाडि लेखेकी छन्, ‘राम्रो सिनेमा दियौं भने त्यसको स्वाद चाख्ने दर्शक त रहेछन् त’ सिनेमा हलहरुमा देखिएको हाउसफुल दृश्यहरुले फेरि यो तर्कलाई प्रमाणित गरिदिएको छ । अब समग्र चलचित्र क्षेत्र यसलाई मनन् गर्दै अघि बढ्नुपर्छ ।’ वर्षाले भनेझैँ पछिल्लो समय नेपाली फिल्ममा दर्शकको आकर्षण बढेको छ । तर, यसलाई जोगाइराख्नु अबको सबैभन्दा ठूलो चुनौती देखिन्छ ।