हिन्दू राष्ट्र पुनस्र्थापना गर्ने संकल्प लिएर आउने दललाई मात्रै भोट : राजेन्द्र लिङ्गदेन

२०७९ कार्तिक ४, शुक्रबार १३:२२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले हिन्दू राष्ट्र पुनस्र्थापना गर्ने संकल्प लिएर आउने दललाई मात्रै भोट दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार जनकपुरधाममा सम्पूर्ण धार्मिक एवम् सामाजिक संघसंस्थाहरूद्वारा आयोजित धार्मिक जनजागरण एकतासभामा राप्रपाका अध्यक्ष लिङ्गदेनले विगतमा भएका गल्ती सच्याउनुपर्ने बताउनुभएको हो । उहाँले मंसिर चार गते हुने निर्वाचनमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्न संकल्प लिएर आउने पार्टीलाई मात्रै भोट दिनुपर्ने बताउनुभयो । लिङ्देनले देशलाई धर्मनिरपेक्ष बनाउनेहरू जतिकै दोषी विगतमा तिनीहरूलाई भोट दिने हिन्दूहरू रहेको टिप्पणी गर्नुभयो ।

सभामा जगत गुरु मोहन शरण देवानी महाराजले लामो समयसम्म कम्युनिस्ट–कांग्रेसको हातमा सत्ता रहे पनि जनताले के पायो भनेर प्रश्न गर्नुभयो । उहाँले पनि हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि प्रतिबद्धता जनाउने पार्टीलाई भोट दिनुपर्ने तर्क गर्नुभयो ।

त्यस्तै, सभामा जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने भन्दै यसका लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो । दबाबका लागि चुनावलाई बहिष्कार गर्न पनि पछि पर्नु नहुने उहाँको भनाइ छ ।
सभामा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास, डा. चिन्ता मणिनाथ योगीलगायत साधुसन्त र हिन्दू अभियानीहरू सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?