जितेन्द्र कुमार मण्डल, श्रावण १४ : आज्ञाकारी हुनु मानव जीवनको एक सकारात्मक गुण हो, जस्ले परिवारिक वा सामाजिक सॅंबन्धलाई बलियो र स्नेहपूर्ण बनाउॅंछ।तर जब यहि गुण व्यक्तिमा प्रचुर मात्रामा विकसित हुन्छ र उक्त व्यक्तिले स्वतन्त्र एवम निष्पक्ष निर्णय लिन सक्दैन, तब त्यसैको कारणले चालमान जीवनमा पूर्णविराम लागछ।
धेरैजसो अवस्थामा, अभिभावकले आफ्ना सन्तानहरूलाई आज्ञाकारी बनाउन बिभिन्न निषेधात्मक नियमहरूको पालना गर्न लगाउॅंछ ताकि बच्चाहरू कुलतमा लागेर नबिग्रियोस् वा उनीहरूलाई कुनै किसिमको हानी नहोस् र यो अभिभावको कर्तव्य पनि हो।तर जब अभिभावकले त्यही नियम निरन्तर र कडाइसाथ अवलम्बन गर्न लगाउॅंछ, तब बच्चाहरू डर वा समर्पनले नियम पाल्ना त गर्छन् तर भविष्यमा आवश्यक पर्न सक्ने जीवनोपयोगी सीपहरू(जस्तै; पोडिन सक्ने,रूखमा चढने,मोटरगाडी हांक्ने,खाना पकाउने,आपतकालिन अवस्थामा स्वयम् निर्णय लिन सक्ने,चुनौतीहरूलाई सामना गर्ने,बिभिन्न खेल खेल्न सकिने, सबैसामु निर्धक बोल्न सकिने,इत्यादि)बाट बञ्चित हुन जान्छ।जब नित्य जीवनमा जीवन-मृत्युलाई ओझेलमा पार्ने अवस्था आइदिन्छ अनि त्यहीं ज्यान बचाउने सीपको अभावले अल्पआयुमै मृत्युको सिकार बन्न जान्छ।
अभिभावकले बच्चाप्रतिको सुरक्षा र मायालाई सम्मान छ। तर अभिभावकले केवल आफ्ना अनुभव र साक्षीभावलाई लक्षित गर्दै बच्चालाई स्वतन्त्र रूपमा सोच्न, निर्णय गर्न तथा सबभन्दा महत्वपूर्ण ‘अनुभव’ लिनबाट मनाही गर्नु… के यो अपराध होइन?
स्वतन्त्रता र आज्ञाकारीपनको सन्तुलन अत्यावश्यक छ। अभिभावक र गुरूवर्गहरूले मार्गदर्शन दिने तर निर्णय गर्ने अधिकार र जिम्मेवारी स्वयम् बच्चालाई दिनुपर्छ।यदि बच्चाले गर्न हठै गरे उसलाई उक्त क्रिया गर्न वा अनुभव गराउन तथा सिकाउन अवस्था सृजना गरि आफ्नै उपस्थितिमा गर्न लगाउन सकिन्छ। यसले उनीहरूलाई जिम्मेवार र आत्मनिर्भर मानिस बनाउँछ अनि आपद परेको बेला आफ्ना ज्यान जोगाउन वा उक्त परिस्थितिबाट उम्किन सक्छ।
अन्ततः अत्यधिक आज्ञाकारीपनले परलोकगमन गराउन सक्ने खतरा हुनेहुनाले हरेक व्यक्तिले सोचर बुझेर, सन्तुलित रूपमा आफ्ना विचार र निर्णय गर्न सिक्नुपर्छ। जीवनलाई सफल र सन्तुष्ट बनाउन सन्तुलित आज्ञाकारीपन आवश्यक छ नकि अभिभावकद्वरा भनिएको सबै कुरामा हो मा हो मिलाएर।
॰जितेन्द्र कुमार मण्डल
॰ हॅंस्पुर-३ धनुषा






