जनकपुरधाम श्रावण २४ :प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर नवनिर्मित यज्ञोपवीत धारण र रक्षाबन्धन विधिपूर्वक बाँधेर मनाइँदै छ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, पोखरी वा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्र (डोरो) ग्रहण गर्छन्। धार्मिक विश्वासअनुसार यसरी बाँधिएको डोराले नकारात्मक शक्तिबाट रक्षा हुन्छ।
पौराणिक कथाअनुसार सत्ययुगमा दानवद्वारा पीडित देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बलीलाई बाँधेर जोगाएका थिए। त्यही प्रसंगमा आधारित भएर आजसम्म ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्दै रक्षासूत्र बाँध्ने परम्परा रहँदै आएको हो।
यस दिन ब्राह्मण, क्षत्रिय र वैश्य गरी तीन वर्णका तागाधारीले पुरानो जनै फेर्ने शास्त्रीय विधान छ। श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेर चोखोनीतो गरेर बस्ने, कपाल मुण्डन गर्ने तथा पूर्णिमाको दिन गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिकाले स्नान गर्ने चलन छ, जसलाई श्रावणी स्नान भनिन्छ। स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूको तर्पण गरी वैदिक विधिअनुसार नयाँ यज्ञोपवीत धारण गरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।
यज्ञोपवीतलाई वैदिक परम्परामा ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो मानिन्छ। आजको दिन पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोक विनायक, वाग्मती किनारलगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।
यसै दिन क्वाँटी खाने विशेष परम्परा पनि छ। एघार थरीका गेडागुडी भिजाएर टुसा उमारी बनाइने क्वाँटीलाई रोग प्रतिरोधक क्षमता बढाउने, पेट सफा राख्ने र शरीरलाई भित्रदेखि ताप दिने आयुर्वेदिक गुण भएको मानिन्छ।
नेपालका तराई क्षेत्रमा भने दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधी पर्व मनाउने चलन छ, जसबाट आपसी प्रेम र सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिन्छ।
देशका विभिन्न धार्मिक स्थलहरू — रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरको धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु, नवलपरासीको त्रिवेणीधाम लगायतमा यस अवसरमा बिहानैदेखि मेला लाग्ने परम्परा रहिआएको छ।






